Logo

जङ्गली च्याउ खाँदा एक हप्तामा तीनको मृत्यु, १६ जना बिरामी

हेटौँडा– पछिल्लो एक हप्तामा जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा विषाक्त च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।

कैलाश गाउँपालिका–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बा र रक्सिराङ गाउँपालिका–७ का ५५ वर्षीय बलबहादुर प्रजाको मृत्यु भएको छ ।

असार ३ गते दिपेश लामा र निरुमाया रुम्बा विषाक्त च्याउ खाएर बिरामी परेकी थिए । बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । तर, आर्थिक अभावका कारण परिवारले उपचार पुरा नगरी अस्पतालबाट घर फिर्ता ल्याएका थिए । उनीहरुको असार ८ गते घरमै मृत्यु भएको हो ।

यस्तै, आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएका थिए । सो जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुर प्रजाको मृत्यु भएको हो ।

यस्तै राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उता मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जङ्गली गोब्रे च्याउ खाई बिरामी परेका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ ।

ग्रामीण क्षेत्रमा बर्खा लागेसँगै जङ्गलमा च्याउ निस्कने गर्दछन् । सोही विषालु च्याउ नचिन्नाले मानिसको मृत्युसमेत हुने गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्