काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज नआउने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । भोली बिहान १० बजेसम्म नतिजा प्रकाशन हुने भएको छ ।
अहिले नतिजाको डेमो गरिरहेका राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । नतिजा निकाल्ने सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकाले भोली नतिजा प्रकाशन गर्ने तयारी भएको हो । भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएको र त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको परिक्षा बोर्डले जनाएको छ ।’
गत चैत्र १५ देखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम ३० प्रतिशत अर्थात् २६.२५ अंक ल्याउनुपर्छ , । त्यसमा प्रयोगात्मकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा नन ग्रेडेड एनजी उल्लेख हुनेछ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
प्रतिक्रिया