Logo

नाइजेरियामा आत्मघाती आक्रमणः बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु, ४८ जना घाइते

एजेन्सी– नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । बम विस्फोटमा ४८ जना घाइते भएको नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले जानकारी दिएको छ ।

नाइजेरियाको स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन्।

उनले भने, ‘पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।’

बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् ।

आत्मघाती आक्रमणकारीले विवाह समारोहपछि सोही सहरको अस्पताललाई पनि निशाना बनाएर बिस्फोट गरेका थिए । सोपछि उनीहरुले विवाह समारोहमा भएको विस्फोटमा मृत्यु भएकाहरुको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेको डब्लुआईओएनले जानकारी गराएको छ ।

बम बिस्फोटबाट बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका १९ जनालाई क्षेत्रीय राजधानी मैदुगुरी उपचारका लागि लगिएको छ ।

क्यामरूनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ । बोको हरामले सन् २०१४ मा ग्वोजालाई कब्जा गरेको थियो तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्