Logo

साउन २३ देखि ३१ गतेसम्म एसइईको मौका परिक्षा, रिजल्ट आउन तीन महिना लाग्न सक्ने

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले ननग्रेडिङमा परेका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डले साउन २३ देखि देशभर परीक्षा सञ्चालन गर्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजामा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये ५२।१४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड ९एनजी०मा परेका छन् ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । सोहि अनुसार सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक न्याएका विद्यार्थीहरुको नजितामा एनजी देखिएको छ । ग्रेडिङ निर्देशिकाअनुसार सबै विषयमा पास नभइ कक्षा ११ मा पढ्न पाईँदैन ।

निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।

एसईईमा ग्रेडिङमा पर्न सफल विद्यार्थीको भने भर्ना सुरु भइसकेको छ । साउन १५ देखि पठनपाठनसमेत सुरु हुनेछ । ग्रेडवृद्धिमा सहभागी विद्यार्थीको साउन अन्तिमसम्म परीक्षा सकेर नतिजा सार्वजनिक गर्दा पठनपाठनमा निकै ढिलाइ हुने अनुमान राष्ट्रिय परिक्षा बोर्डका अधिकारीहरूले गरेका छन् । झन्डै साढे दुई लाख विद्यार्थीको परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्न कम्तीमा ३ महिना लाग्ने उनीहरूको अनुमान छ ।
यसले शैक्षिक सत्र नै प्रभावित हुने आँकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्