Logo

‘इट्स माइ शो’को विवादित एपिसोड हटाउन माग गर्दै प्रेस काउन्सिलमा जसिताको उजुरी

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै नायिका जसिता गुरुङले प्रेस काउन्सिलमा उजुरी गरेकी छन् । आइतबार उनले प्रतिनिधि पठाएर उजुरी दर्ता गराएको काउन्सिलमा लिखित उजुरी दिएकी हुन् ।

गत असार ८ गते ओसिन सिटौलाद्वारा सञ्चालित कार्यक्रमको पहिलो एपिसोडमा नै जसितालगायत थुप्रै कलाकारको व्यक्तिगत जीवनका बारेमा प्रश्नोत्तर गरिएको थियो । जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ । आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुर्‍याएकोप्रति पूर्ण क्षतिपूर्तिको मागसमेत जसिताले गरेकी छन् ।

‘पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन २०७६)ले प्रष्ट रुपमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने विषय र क्रियाकलाप उल्लेख गरेको छ । त्यसको पूर्ण खिलाफमा गई कान्तिपुर टेलिभिजन, प्रस्तोता ओशिन सिटौला, अतिथिहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले मेरो व्यक्तिगत जीवनमा असर पुग्नेगरी जेजस्ता खालको हल्का टिप्पणी र आरोप लगाए, यसले मलाई मानसिक दवाव दिएको छ । मेरो मान, मर्यादा र भावनामा ठेस पुर्‍याएको छ’, उजुरीमा लेखिएको छ ।

अरुको जीवनमाथि धावा बोल्ने, अरुको गोपनीयता भंग गर्ने, अरुका व्यक्तिगत कुरालाई विनाप्रमाण प्रस्तुत गर्ने, अरुको भावना र जीवनमा ठेस पुर्‍याउने, हुँदै नभएको विषयमा टिकाटिप्पणी गर्ने किसिमले प्रश्नोत्तर भएको उजुरीमा जनाइएको छ । यो पूर्ण पत्रकार आचार संहिताविपरीत र संविधान विपरित कार्य भएको उजुरीमा उल्लेख छ ।

‘आशा छ, प्रेस काउन्सिल नेपालले नेपालको संविधान, लोकतन्त्र, विधिको शासन र पत्रकार आचार संहिताविपरीत गएर प्रशारण हुने यस्ता समाज भड्काउने, अरुको जीवनमाथि धावा बोल्ने कार्यक्रम बन्द गराउनु हुनेछ’, जसिताले भनेकी छन् ।

टेलिभिटन कार्यक्रम ‘इट्स माइ शो’को चौतर्फी रुपमा आलोचना भइरहेको छ । तर कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् । प्रेस काउन्सिलले यस विषयमा केहिदिनअघि कान्तिपुर टेलिभिजनलाई जवाफ दिन भन्दै २४ घन्टे पुर्जी काटेको थियो । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काठेको हो । चित्तबुझ्दो जवाफ नआएको खण्डमा टेलिभिजनलाई कानूनबमोजिम कारबाही हुने र सामग्री हटाउन लगाउने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्