Logo

नेकपा एसका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्रमा यस्तो हविगत, घुँडासम्म आउने हिलोमाथि प्राथना गर्दै विद्यार्थी

रौतहट– विद्यार्थीहरु बिहान पठन पाठन सुरु हुनुअघि पङ्तिवद्ध भएर विद्यायल प्राङ्गणमा उभिएका छन् । उनीहरुले राष्ट्रिय गान गाएर भर्खरै सक्काएका छन् । तर उनीहरु प्राथना गर्न उभिएको विद्यालयको आँगन कम रोपाई गर्ने खेत ज्यादा देखिएको छ । जहाँ विद्यार्थीहरु घुँडासम्म आइपुग्ने गरि जमेको पानीमाथि उभिएका छन् ।

केहिले हिले पानीबाट भिझ्छ भनेर प्यान्ट केहि माथि सारेका छन् । प्रायको हिलोमा स्कुल ड्रेस समेत भिजिरहेको छ । कोहि सिकसिको मानिरहेका छन् भने कोहि त्यही हिलो पानीमा खेलीरहेका छन् । प्रस्तुत दृश्य हो, रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको । उक्त विद्यालयको चौरको मात्र यस्तो हालत होइन । कक्षा कोठामा पनि वर्षाको पानी जमेको छ । आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण पठन पाठनमा निकै समस्या भएको छ ।

उक्त क्षेत्र पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्र हो । पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय सहनीले उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले सामाजिक सञ्जालबाटै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीको भनाई रहेको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै अन्यले समेत सामाजिक सञ्जाल फेसबुकमा आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्