Logo

६० किलो सुन प्रकरणः ३० अर्ब बढीको ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्श

काठमाडौँ — ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा झन्डै ३२ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरेर यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् ।

कसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो । यस प्रकरणमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना चिनियाँ नागरिकसमेत रहेका छन् । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

२६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सीआईबीको अनुसन्धानअनुसार यही तस्करीमा संलग्न समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको छ । जसमा ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ ।

त्यस्तै विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष छ । यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ ।

अवैध सुनको भुक्तानी प्रक्रियामा पाँच वटा नक्कली कम्पनि खडा गरेर तस्करी भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार पाँचवटा डमी कम्पनी खडा गरेर ३१ अर्ब बराबरको सुन तस्करी भएको पाइएको हो।

भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो।

यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ।

सीआईबीले अहिले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐन अन्तरगत उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । अझै २५ जना फरार रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्