Logo

नक्कली भुटानी प्रकरणमा नाम जोडेको भन्दै नौवटा टेलिभिजनविरुद्ध आरजुले दिइन् उजुरी

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा आरजु राणाले चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार प्रसारण गरेको भन्दै विभिन्न टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग आफ्नो नाम जोडेर आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै आरजुले नौवटा टेलिभिजनविरुद्ध उजुरी दिएकी हुन् ।

कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको भूमिका खेलेको आरोप छ ।
उनै झासँग आरजुको नाम जोडेर विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।

सोहि विरुद्ध उजुरी हाल्दै भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित–प्रशारण गरेका सञ्चारमाध्यामहरूलाई कारवाही गर्न माग उनले गरेकी छिन् ।

‘उपरोक्त सम्वन्धमा माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन–प्रशारण भएका समाचारहरू तथ्यहीन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनासयले आएका छन्’, आरजुको स्वकीय सचिव कमल रावलमार्फत काउन्सिलमा पठाएको उजुरीमा भनिएको छ, ‘प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरूलाई कानुनअनुसार कारबाही गरी भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु ।’

योहो टेलिभिजन एचडी, सगरमाथा टेलिभिजन, न्युज २४ नेपाल, प्राइम टाइम्स एचडी, कान्तिपुर टेलिभिजन एचडी, एकता टिभि नेपाल, नेपाली खबर टिभी, खोजनीति खबर र कलर अफ नेपालविरुद्ध उजुरी दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्