Logo

पहिरोका कारण रोल्पामा जीप दुर्घटना, एकै गाउँका सात जनाको मृत्यु

रोल्पा — सोमबार बेलुकी यात्रुसहितको जिप दुर्घटना हुँदा रोल्पामा सात जना यात्रुको मृत्यस भएको छ । दुर्घटनामा परि आठ जना घाइते भएका छन् ।

रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको थियो ।
बिहान तालाबाङबाट घर्तीगाउँ आएको जिप दिउँसो घर्तीगाउँबाट ४ बजे तालाबाङ तर्फ हिडेको थियो । त्यसको करिब एक घण्टापछि जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत मध्य रातिसम्म प्रहरीले गरेको छ । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ ७७ वर्षका खडकबहादुर डाँगी, वर्ष ३० की अमृता घर्तीमगर, उनकी छोरी १८ महिनाकी नाम नखुलेकी बालिका, ३३ वर्षकी जुनुमाया खड्का, ७० वर्षका झुपलाल डाँगी, ५० वर्षकी कर्मा घर्तीमगर र परिवर्तन गाउँपालिका–राङ्सीकी ३२ वर्षकी रामकली पुन छन् ।

८ जना घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

रोल्पाका प्रहरीका प्रमुख डीएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ । वर्षात्का कारण सडकमा पहिल्यै पहिरो झरेको थियो । चालकले पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो । जिप पछाडि सर्दै चिप्लो भएको सडकबाट तल खसेको थियो । जिप दुर्घटनामा परेर एकै गाउँका ७ जनाको मृत्यु भएपछि तालाबाङ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्