Logo

कांग्रेस–एमाले गठबन्धनमा राप्रपा सकारात्मक

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सकारात्मक भनेको छ ।

दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताए ।

राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको बताउँदै लिङ्देनले भने, ‘यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ । त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।’

यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए । दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा धारणा बनाउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्