Logo

धार्मिक मेलामा भएको भाडदौपमा किचिएर मर्नेको सङ्ख्या ११६ पुग्यो

 

 

काठमाडौं– भारतको एक धार्मिक मेलामा एक बाबालाई छुनका लागि भागदौड हुँदा सयौँले ज्यान गुमाएका छन् । यो घटना उत्तर प्रदेशको हाथरसको फुलरई गाउँमा मंगलबार घटेको हो ।

गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । बाबाको संत्सगंको कार्यक्रमको तयारी १५ दिन अगाडीदेखि चलेको थियो । मंगलबार बाबा सत्संग सक्काएर फर्कन लागेको बेलामा भक्तजनहरुलाई छुन चाहे । लाखौँको सङ्ख्यामा उपस्थित रहेका भक्तजन एकैपटक बाबालाई छुन खोज्दा दौडधुप मच्चिएको थियो र सयौँ मानिसहरु भीडले किचिएका थिए । ।

दौडधुपका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । १०८ जना महिला ७ जना बालबालिका र एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या धेरै भएकाले त्यहाँका स्वास्थ्यकर्मीलाई सबै शवको पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे परेको छ ।
घटनापछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

उत्तर प्रदेशका मुख्य सचिव मनोज कुमार सिंहले मिडियाहरुलाई दिएको जानकारी अनुसार भिड व्यवस्थापनका लागि प्रबन्ध नमिलाइँदा मानवीय क्षति भएको बताएका छन् ।

उनका अनुसार कार्यक्रममा ८० हजार जनालाई सहभागी हुने अनुमति थियो । तर करिब दुई लाखको हारहारीमा कार्यक्रमस्थलमा मानिसहरु भेला भएका थिए ।

घटनास्थलमा पुगेका उत्तर प्रदेश सरकारका एक जना मन्त्री सन्दीप सिंहले मृतकका परिवारलाई दुई लाख रुपैयाँ घाइतेहरुलाई उपचारका लागि ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।
भारतमा धार्मिक मेलामा ठुलो संख्यामा मानिसको ज्यान गएको यो पहिलो घटना भने होइन । सन् २००५ मा महाराष्ट्रको मानधारदेवी मन्दिरमा भएको भागदौडमा ३४० भक्तजनको मृत्यु भएको थियो । २००८ मा राजस्थानको चामुण्डादेवी मन्दिरमा भएको भागदौडमा कम्तिमा २५० जनाको मृत्यु भएको थियो । सन् २००८ मा हिमाचल प्रदेशको नैना देवी मन्दिरमा धार्मिक कार्यक्रममा भागदौड हुँदा १६२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्