बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेपछि १० वर्ष कैद


हेटौंडा — बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गापा—३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेको ठहर गर्दै १० वर्षको कैद फैसला सुनाएको छ। युवतिलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप तीन वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ । २०८० पुस २६ गते युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । उनी हाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।