Logo

फेसबुकबाट बनेको साथीको घरमा पाहुना बनेर जाँदा चोरी, एक महिला पक्राउ

काठमाडौं– समय समयमा आइरहने चोरी र लुटपाटका खबर हाम्रो लागि खासै नौलो होइन । पछिल्लो समय सामाजिक सञ्जालमा साथी बन्ने र मानिसहरुलाई फसाउने कतिपयको पेशा नै बनेको छ ।

रौतहटको एक महिलाले फेसबुकमा साथी बनाएर उनीहरुको घरमा पुगेर चोरी गरेपछि पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न रहेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापालाई पोखराबाट पक्राउ गरेको हो।

उनी सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा पक्राउ परेकी हुन्। उनलाई प्रहरीले चोरीको आरोपमा एक हप्ताअघि पक्राउ गरेको हो ।

फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीको आधारमा प्रहरीले दिपालाई पक्राउ परेको हो । दिपाले फेसबुकमा साथी बनाएर नजिकिने र उनीहरुको घरमा पाहुना बनेर जाने गरेकी छिन् । पाउना बनेर जाने र चोरी गरेर फर्कने उनको पेशा नै रहेको छ। कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ। पोखरामा अन्य व्यक्तिको घरमा पनि त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन्।

एसपी थापाले भने, ‘फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ। साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो।’

चोरी मुद्दामा उनीमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्