Logo

भारी बर्षापछि आसाममा आएको बाढीले ज्यान जानेको संख्या ३८ पुग्यो

 

 

काठमाडौँ – भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको हो । जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको हो । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बन्दै गएको छ ।

प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् । बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न भएका छन् । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ । सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेका छन् । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको बताएको छ । मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पु¥याएको छ भने पाँचवटा तटबन्धलाई तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्