Logo

भारतमा पानीपुरीमा भेटियो क्यान्सर गराउन सक्ने केमिकल, प्रतिबन्ध लगाउन सकिने

काठमाडौं– पानीपुरी यस्तो स्ट्रिट फुड हो, जसको नाम सुन्दा सबैको मुखमा पानी आउँछ । धेरैजसो मानिसहरू यसलाई साँझको खाजामा खान मन पराउँछन्। त्यस्तै, कतिपयले साँझको भोक पानीपुरीले नै मेटाउने गर्छन् । भारतमा सबैभन्दा धेरै रुचाइने यो स्ट्रिट फुड नेपालमा पनि सर्वप्रीय बनेको छ ।

तर दक्षिण भारतको कर्नाटकमा पानीपुरी खानेहरूका लागि डरलाग्दो खबर आएको छ। कर्नाटकमा बेच्ने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणले आफ्नो अनुसन्धानमा २६० स्थानबाट पानीपुरीको नमूना सङ्कलन गरेको थियो। जसमध्ये ४१ वटा नमूनामा कृत्रिम रंग र क्यान्सर गराउने तत्व भेटिएको थियो । ‘पानीपुरीको संकिलित नमूनाहरू यति खराब थिए कि तिनीहरूलाई उपभोगको लागि उपयुक्त मान्न सकिँदैन।’ प्रतिवेदनमा यो पनि भनिएको छ ।

सडक किनारमा बिक्री हुने पानीपुरीको गुणस्तरलाई लिएर कर्नाटकका विभिन्न क्षेत्रबाट धेरै गुनासो आएका छन् । त्यसपछि खाद्य सुरक्षा विभागले यसबारे अनुसन्धान थालेको हो । प्राधिकरणका एक अधिकारीले भने, ‘हामीले सडक छेउका स्टलहरूदेखि ठूला रेस्टुरेन्टहरूमा नमूनाहरू संकलन गरेका थियौं।
यीमध्ये धेरै नमूनाहरू बासी र उपभोगको लागि अयोग्य भेटिए।’

कर्नाटकमा बाहिरिएको नमूनामा पानीपुरीको नमूनामा ब्रिलियन्ट ब्लु, सनसेट येलो र टार्ट्राजिन जस्ता केमिकल फेला परेको थियो जसले स्वास्थ्य क्यान्सरदेखि धेरै समस्या निम्त्याउँछ ।

कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश राव गुण्डुले यस विषयमा स्वास्थ्य विभागले उचित कारबाही गर्ने बताएका छन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्न नदिइने भन्दै उनले विभागका अधिकारीहरूलाई सडकमा बेचिने पानी पुरीको नियमित रूपमा जाँच गर्न आदेश दिएका छन् । सरसफाइमा ध्यान दिइएको छ÷छैन र रंगका लागि केमिकलको प्रयोग गरिएको छैन भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।

कृत्रिम रंगको प्रयोगका कारण यस अघि नै गोबी मन्चुरियन, कबाब र कपास क्यान्डीको उत्पादनमा प्रतिबन्ध लगाइएको स्वास्थ्यमन्त्रीले बताएका छन् । आफूहरूले परीक्षणका लागि नमुना पठाएको अनि पूरै छानबिन भइरहेको पनि उनले बताएका छन् । ल्याबबाट नमुनाको रिपोर्ट आएपछि उपयुक्त कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्