Logo

पक्वान, अमृत, क्वालिटी र फेमिली व्राण्डको तेल अखाद्य भेटियो, तत्काल नष्ट गर्न काठमाडाैं महानगरपालिकाको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं.(एस)– को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादन हो ।

यस्तै २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच / लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रा. लि., वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रा. लि., कटहरी विराटनगरका हुन् ।

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच÷लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ ।

नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ ववरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।

‘नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ न्यौपानेको भनाइ छ । यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्