Logo

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको शिक्षामन्त्री सुमना श्रेष्ठको दाबी

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छिन्, ‘आदरणीय केपी बा शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,’ उनले लेखकी छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने क्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

ूयत्रो ठूलो ५३ प्रतिशत किन फेल भयो भन्दा अप्सन नै छैन । शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरको छैन । जसले नलेज ट्रान्सफर गर्न सक्छ, सम्प्रेषण गर्न सक्छ । नलेज ट्रान्सफर गर्ने, पहिला आफूसँग नलेज हुनुपर्छ । नलेजको स्किल हुनुपर्छ । हाउ टू ट्रान्सफर नलेज ? अरू विद्यार्थी कमसल भएर होइन,’ उनले भनेका थिए ।

यसैबीच माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सरकार ढाल्न ओलीले विभिन्न सात कारण देखाउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई सरकारबाट हटाउन चाहेको बताएका छन् । १७ असार बिहान ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भएको साढे ३ घण्टा लामो छलफलमा
प्रचण्डसँग ओलीले शिक्षामन्त्री श्रेष्ठलाई हटाउन किन पहल नगरेको प्रश्न उठाएको उनको आरोप छ ।

लामो समयदेखि नै ओली र सुमनाबिच तिक्तता छ । ओलीले श्रेष्ठमाथि सार्वजनिक रूपमा माइती घुम्न आउएकी थिइन् मन्त्री पो भइछन् भन्दै टिप्पणी गरेका थिए । यसपछि यसको सुमनाले विरोधसमेत जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्