Logo

काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा

काठमाडौं– एसइईमा एनजी ल्याएका विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले पुरक परीक्षाको तयारी कक्षा दिन थालेको छ । विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले उक्त कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएको बताए । उनले भने, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’ यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरुलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ ।

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।

यो महानगरपालिकाका लागि पनि परीक्षा हो । सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छन्, ‘विद्यार्थीहरु जुन विषयमा अनुत्तीर्ण भए उनीहरुलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् । यही कठिन विषयमा उनीहरुलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरुलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यसकारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्