Logo

भारतमा अनौठो घटना, युवकको डसाईबाट सर्पको मृत्यु

एजेन्सी- सर्पको टोकाइबाट मानिसको मृत्यु हुने गरेको तपाइले प्रायः सुन्नु भएको होला । तर, भारतको बिहारमा युवकको मृत्यु सर्पको टोकाइबाट नभएर बरु युवकको डसाइबाट सर्पको मृत्यु भएको छ ।

भारतको बिहारको नवादामा एक सर्पले एक युवकलाई डस्यो । सर्पको टोकाईमा रिसाएको युवकले सर्पलाई पनि टोके । जसका कारण सर्पको घटनास्थलमै मृत्यु भएको छ ।

भारतिय सञ्चारमाध्यमका अनसार सर्पको डसाईमा परेका ती युवकलाई घटनास्थलमा उपस्थित मानिसहरूले तत्काल रजौली अस्पतालमा भर्ना गरेका थिए । सर्पलाई टोकेर मार्ने युवक हुन्, नवादाका सन्तोष लोहार । सन्तोष भन्छन्, ‘मेरो गाउँमा एउटा मान्यता छ कि सर्पले एकपटक टोक्यो भने तिमी पनि एक चोटि सर्पलाई डस । यसले सर्पको टोकाइको विषलाई बेअसर गर्छ।’

यही अन्धविश्वासका कारण सर्पको टोकाइबाट पीडित ३५ वर्षीय सन्तोष लोहारले हातमा सर्प समातेर दाँतले दुई पटक टोके । रजौली प्रहरी चौकी क्षेत्रको जङ्गल क्षेत्रमा रेल लाइन बिछ्याउने काम भइरहेको छ । गत मंगलबार राति सबै मजदुर आधार शिविरमा सुतिरहेका थिए । यसै क्रममा सन्तोष लोहार नामका मजदुरलाई विषालु सर्पले टोकेको थियो । यसपछि आक्रोशित बनेका उनले फलामको रडको सहायताले सर्पलाई समातेर दुई पटक टोके । जसका कारण सर्पको घटनास्थलमै मृत्यु भएको थियो । र उनी अस्पताल भर्ना हुनु परेको थियो ।

सन्तोष लोहार नामका व्यक्तिलाई सर्पले टोकेको उपचारमा संलग्न चिकित्सक सतीशचन्द्र सिन्हाले बताएका छन् । उनको उपचार भैसकेको छ । युवक पूर्ण रुपमा निको भइसकेका छन् । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

विषलाई विषले काट्छ भन्ने त्यहाँको स्थानीयको विश्वास छ । सर्पको टोकाइले मानिसको शरीरमा विष प्रवेश गर्छ । यस्तो अवस्थामा मानिसले सर्पलाई टोके पनि पूरै विष सर्पमा जान्छ र मान्छेको ज्यान बच्छ भन्ने अन्धविश्वास उनीहरुमा छ ।

प्रतिक्रिया दिनुहोस्