Logo

‘रास्वपाका मन्त्रीको गोजीमा भएको राजिनामा कहाँ पुग्यो?’– एमाले सचेतक महेश बर्तौला

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले राजिनामा पत्र कहाँ पुग्यो भनेर जिज्ञासा राखेका हुन् ।

सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको उनले बताएका छन् । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँखाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेको टिप्पणी गरेका छन् ।

उनले मन्त्रीलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए। उनले भने, ‘प्रधानमन्त्री आज पनि कुर्सीमा आसिन हुनुहुन्छ । केही मन्त्रीहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको भए पनि साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो?’

’कुन–कुन फाइल कसरी खोल्नु पर्ने हो, तपाईहरुले धम्की मात्र दिएर पुग्छ? यो संसदको हार्डडिस्कमा मात्र सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईले दिनुपर्छ’ उनले भने । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्