Logo

गीतबाटै एमालेलाई माओवादीको जवाफः ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’

काठमाडौं– प्रतिनिधि सभा बैठकमा दलहरुबीच आज पनि घोचपेच चलेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले अल्पमतमा परिसकेपछि प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने माग गर्दै सरकारको चर्को आलोचना गर्दा सत्तारुढ दलका सांसदहरुले प्रतिरक्षा गरेका छन् ।

प्रतिनिधि सभाको सुरुवातमै बोलेका एमाले सांसद ठाकुर गैरेले एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीले फत्तेमान राजभण्डारीको गीत सुनाएको प्रसंग उप्काउँदै गीतमार्फत सरकारलाई प्रश्न गरेका थिए । उक्त प्रसंग उप्काउँदै सांसद गैरेले बरू, ‘उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि’ भन्दै कटाक्ष गरेका थिए ।

त्यसपछि बोलेका एमालेकै प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलाले पनि गीतमार्फत सरकारको आलोचना गरे । ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो– यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसदमा भने, ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र?’।

केहीबेर पछि नेकपा माओवादी केन्द्रका सांसद अले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ दिए। गीतको सहयोग लिँदै उनले अहिले राजनीतिक स्थिरता र संविधान संशोधनको नारा दिएर अहिले सरकार परिवर्तनको तयारी भएकोमा चित्त दुखाए । ‘हिजो पनि आज पनि केही माननीय साथीहरूले गीतको अन्तरा भन्नुभयो मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको एउटा गीत छ’ उनले भने, ‘कति जल्छौँ आरिसले अझै जल्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, रेग रेसा ।’

प्रतिक्रिया दिनुहोस्