Logo

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि फरार रहेका तीन चालक पक्राउ

काठमाडौं– अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि फरार रहेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन्। उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए।

तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए। सोही क्रममा काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना भएको थियो ।

जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् । मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको एसपी अधिकारीले बताए।

ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको थियो।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए। घटनापछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्