काठमाडौं– समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेश प्रदेशमा २५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेशमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो ।
प्रतिक्रिया