कैलालीमा दुई जना मृत फेला


धनगढी– कैलालीमा छुट्टा छुट्टै स्थानमा गरि दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको टोमा एक्कासी ढलेर बेहोस भएको अवस्थामा मृत्यु भएको हो ।

यस्तै, बुधबारदेखि बेपत्ता घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी मृत भेटिएका छन् । घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा उनी मृत भेटिएका हुन् ।

उनी बुधबार साँझ आफन्तको घर जान्छु भनी हिंडेका थिए । धामी सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि भोलिपल्ट इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा उनी नदीको बीच भागमा मृत भेटिएको प्रहरीले जनाएको छ ।