Logo

त्रिशुलीमा पहिरोसँगै बगेको बसमा जुगेसाको सन्तान बगे, नन्दनको सपना

काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका भनिएको बस र यात्रुहरुहरु हालसम्म भेटिएको छैन । उनीहरुको खोजीमा ९० जना सशस्त्र प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको छ ।

आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको बताइएको छ ।

उक्त बस दुर्घटना भएको दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका यात्रुहरुले दिएका थिए । काठमाडौंबाट रौतहटका लागि छुटेको गणपति ट्राभल्सबाट तीन जना पुरुष बस खसेर त्रिशुली नदीमा पुगेपछि त्यहाँबाट बाहिर निस्किएर मुख्य सडकमा आएका थिए । उनीहरुले नै अन्य गाडीको चालकलाई दुर्घटनाको बारेमा बताएका थिए र प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका रौतहटका जुगेसा राय यादव, नन्दन दास र रौतहटकै सरोज गुप्ता छन् ।

नन्दन दासका अनुसार उनकाअनुसार बिहीबार साँझ करिब ८ बजेतिर उक्त बस कलंकीबाट छुटेको थियो। बाटोमा खाना खाएपछिको करिब डेढ घण्टापछि बस सडकबाट नदीमा खसेको थियो ।
बस पल्टिँदै त्रिशुलीमा खसेको र पानीको बहावले बसबाट आफुलाई बाहिर फालिदिएको उनले बताए । उनले भने, ‘ठूलो पानी परिरहेको थियो। म पौडी खेलिरहेको थिएँ तर कहाँ जाँदैछु थाहा थिएन। भगवानको नाम लिँदै पौडी खेलेको थिएँ। ‘पौडी खेल्दै जाँदा ढुंगा फेला पर्‍यो। माथि पहाड रहेछ। चढेपछि रोड आयो।’

सानोमा गाउँमा भैंसी हेर्न जाँदा तलाउहरूमा पौडी खेल्न सिकेको र त्यही सीपले ठूलो दुर्घटनाबाट बचाएको भन्दै उनले भगवानलाई धन्यवाद दिए ।

आफुसँगै अरु दुईजना पनि त्यसैगरि आएको उनले बताए । तर बस कहाँ पुग्यो भनेर उनले देखेनन् । उनी वैदेशिक रोजगारीका लागि बहराइन जानका लागि स्वास्थ्य जाँच गर्न काठमाडौं गएका थिए। फर्किंदा वैदेशिक रोजगारीका सबै कागजपत्र साथमा थियो। ती सबै नदीमा डुबेको उनी बताउँछन्।

‘पाँच वर्ष मलेसिया बसेर ५ महिनाअघि नेपाल फर्किएका उनको घरमा स–साना तीन सन्तान छन् । उनीहरुको लालनपालनका लागि पुन वैदेशिक रोजगारीमा जान लागेका उनलाई कागजपत्र सबै बगाएपछि अर्को तनाव परेको छ ।
उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।उनको चिउँडोमा भित्री चोट देखिएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

सोहि अस्पतालमा बसका अर्का यात्रु जुगेसा राय यादवको पनि उपचार भइरहेको छ। यादव ४ जना परिवारका सदस्यसँगै काठमाडौंबाट फर्किरहेका थिए । उनी छोरा, छोरी र नाति, नातिनालाई लिएर काठमाडौंबाट फर्किएका हुन्।

१० वर्षका छोराको पेटमा समस्या, छोरीको कम्मर र ढाडको दुखाइको उपचार गर्न काठमाडौं गएका उनका सन्तानको अवस्था अहिले कस्तो छ कसैलाई थाहा छैन ।
उनले भने, ‘दुई, अढाइ बजेको थियो जस्तो लाग्छ। अगाडि वीरगञ्जबाट आएको रातो रंगको बस देखेको थिएँ। ठूलो पानी परिरहेको थियो। हामी चढेको गाडी ब्यालेन्स नभएको जस्तो भयो। चिप्लिए जस्तो गरेर पल्टियो । गाडी ४ पटक गुल्टिएको थाहा पाएँ। पाँचौं पटकमा पानीमा पुग्यो जस्तो लाग्छ। म बसबाट पानीमा पुगेछु।’

पौडी खेलेर नदीको छेउमा निस्किएको उनले बताए। आफ्नै गाउँका अरु दुईजना पनि पौडी खेलिरहेको र उनीहरुबाहेक केही नदेखेको उनले बताएका छन् । रौतहटकै सरोज गुप्ता भरतपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनीसँगै उनका बुबा आमा उक्त बसमा सवार रहेको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्