सिमलतालमा बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क गाँस–बासको व्यवस्था गर्ने


काठमाडौं– मुग्लिङ–नारायणी सडक खण्डअन्तर्गतको सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् ।

होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो । सङ्घले आज विज्ञप्ति निकाल्दै बेपत्ता भएकाहरूको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजीमा आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस पहिरोमा परेर नदीमा खसि बेपत्ता भएको थियो । दुवै बसमा ६५ जना सवार रहेको बताइएको छ । प्रहरीले बसको खोजी गरिरहेपनि हालसम्म भेटिएको छैन ।