अब त्रिभुवन विश्वविद्यालयले परिक्षा दिएको ९० दिनमा नै ‘रिजल्ट’ निकाल्ने


काठमाडौं– परिक्षाको नतिजा प्रकासन गर्न १८ महिनासम्म ढिला गर्दै आएको त्रिभुवन विश्वविद्यालयले अब ९० दिनमा नै नतिजा सार्वजनिक गर्ने भएको छ । प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि स्वीकृत गरेको त्रिभसवन विश्वविद्यालयको क्यालेन्डरमा रीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयका प्रमुख प्राचार्य डाक्टर खड्ग केसीले जनाएका छन् । उनका अनुसार क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न एक समिति समेत बनाइएको छ ।

क्यालेन्डरअनुसार आगामी शैक्षिकसत्र साउन दोस्रो सातादेखि सुरु हुनेछ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि मात्र विश्वविद्यालयमा स्नातक तहमा भर्ना प्रक्रिया सुरु हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले साउनमा नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । त्रिविले भदौसम्म आवेदन फाराम वितरण गर्ने र प्रवेश परीक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ । असोज र कात्तिकमा विद्यार्थी भर्ना गरेर मंसिर पहिलो सातादेखि कक्षा सञ्चालन गर्ने क्यालेन्डरमा उल्लेख छ ।

वार्षिक प्रणालीमा आगामी जेठ अन्तिम साता परीक्षा सञ्चालन गर्ने र असोज दोस्रो साता नतिजा सार्वजनिक गर्ने उल्लेख छ । सेमेस्टर प्रणालीमा परीक्षा र नतिजा तोकिएकै समयमा हुँदै आए पनि त्रिविमा वार्षिक प्रणालीमा भने ढिलासुस्ती हुँदै आएको छ । क्यालेन्डरमा २०८५ सम्म स्नातक तहको पढाइ पूरा गर्न लाग्ने समयसम्मकै भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्बन्धी समयसीमा तोकिएको छ । स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा प्रवेश परीक्षा र भर्ना हुने तय गरिएको छ ।