काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण भएको हो ।
प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
एकैपटक २१ जनालाई मन्त्रीको रुपमा सपथ ग्रहण गराउँदा समावेशीतामा चाँही ओलीको ध्यान नपुगेको देखिएको छ । २१ जना मन्त्रीहरुमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोहीपनि मन्त्री छैनन् । महिला मन्त्री पनि दुूईजना मात्र छन् । ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेत पुरुष मन्त्रीको भागमा परेको छ । यो मन्त्रालयको जिम्मेवारी जसपाका नवलकिशोर साह सुडीले पाएका छन् ।
प्रधानमन्त्री ओलीसहितको २२ सदस्यीय मन्त्रीपरिषद्मा कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाले १ जना मन्त्री बनेका छन् । तर २१ जनामा दलित समुदायका लागि कुनै पनि पार्टीबाट मन्त्रीको नाम सिफारिस भएन ।
महिला मन्त्रीमा नेपाली कांग्रेसबाट आरजु राणालाई परराष्ट्र मन्त्रालय र एमालेबाट शिक्षा मन्त्रालयमा विद्या भट्टराई नियुक्त भएका छन् ।
यसअघिको प्रचण्ड सरकारमा समेत दलित समुदायका कुनैपनि मन्त्री मन्त्रीपरिषद्मा समावेश भएका थिएनन् । ओली सरकारमा पनि त्यहि कुरा दोहोरिएको छ ।
संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । यदी प्रधानमन्त्री ओलीले चाहे अब दलित समुदायका सांसद राज्य मन्त्रीसम्म बन्न सक्ने सम्भावना छ ।
प्रतिक्रिया