Logo

श्रीमतिको हत्यापछि नाबालक छोरा लिएर श्रीमान फरार, छोरालाई आमाको हत्याबारे सुइँको पनि दिएनन्

रुकुम पूर्व– रुकुम पूर्वमा एक श्रीमानले श्रीमतिको हत्या गरेका छन् । भूमे गाउँपालिका–६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीलाई शुक्रबार खुकुरी हानेर हत्या गरेका हुन् ।

उनले शुक्रबार श्रीमतिलाई हत्या गरेपछि आफ्नो ६ वर्षको नाबालक छोरा आयुषलाई लिएर फरार भएका थिए । उनीहरुलाई जंगलको बीचको एउटा गोठमा प्रहरीले शनिबार फेला पारेको हो । प्रहरीले फेला पार्दा जीवन आफ्नो छोरासँग खुसीसाथ बसिरहेका थिए ।

शुक्रबार जीवन गाउँको एक बिहेमा गएर मदिरा सेवन गरेर आएका थिए । बिहेबाट आएपछि उनी श्रीमतिसँग कागती गोड्न गएका थिए । कागती गोड्न जानेक्रममा नै उनीहरु एक अर्कासँग बाझिरहेका थिए । सोहि क्रममा जीवनले श्रीमतिलाई ढुङ्गाले हानेर बेहोस बनाएका थिए । बेहोस अवस्थामा रहेको श्रीमतिलाई खुकुरी घाँटीमा प्रहार गरि हत्या गरेको जीजनले प्रहरीलाई बताएका छन् । श्रीमान श्रीमतीबिच लामो समयदेखि नै मनमुटाव रहेको उनले बताएका छन् ।

श्रीमतिको हत्या गरेपछि त्यही दिन छोरालाई लिएर जीवन फरार भएका थिए । अप्सराको हत्याबारे शुक्रबार राति ११ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त सूचनापछि अस्थायी प्रहरी पोष्टबाट ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा ९ जना प्रहरी घटनास्थलमा खटिएका थिए।

जीवन र उनको नाबालक छोरालाई घरदेखि करिब डेढघण्टा पैदल टाढा रहेको तामारी जङ्गलमा रहेका गोठमा शनिबार करिब साँढे २ बजे प्रहरीले फेला पारेको हो । उनले बाटोमा छोरालाई खानेकुरा समेत किनिदिएका थिए । उनीहरु गोठमा हाँसिखुसी बसिरहेका थिए । जीवनले छोरालाई आमाको हत्याको बारेमा सुईको समेत नदिएको छ ।

आमाको हत्या गरेर बुबालाई पक्राउ गरेको विषयमा हालसम्म उनीहरुको नाबालक छोरालाई प्रहरीले जानकारी दिएको छैन । बालकलाई आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्