चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये एउटा बसको चालक र सहचालकको शव फेला परेको छ ।
प्रहरीको अनुसार काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको हो ।
चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव फेला परेको छ । उनीहरुको शव परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।
उनीहरुको शव घटनास्थलभन्दा १०३ किलोमिटर टाढा नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । सोसहित अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ । अझै ४५ जना यात्रु बेपत्ता रहेका छन् ।
६ दिनअघि खसेका दुई बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालित छन् । विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन र ४५ जना यात्रु भेटाउन सकिएको छैन ।
यही असार २८ गते शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया