काठमाडौं– मधेश प्रदेश सरकारले गत २८ असारमा त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
उनले भने, ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ,’ मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा राहत रकम प्रदान गर्ने उनले बताएका छन् ।
यही असार २८ गते शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
बेपत्ता भएकामध्ये हालसम्म १७ जनाको शव फेला परेको छ भने ४५ जनाको अवस्था अझै अनविज्ञ छ ।
प्रतिक्रिया