Logo

रवि लामिछानेलाई छलफलको लागि बोलाउने तयारीमा संसदीय छानबिन विशेष समिति

काठमाडौं– संसदीय छानबिन विशेष समितिले छलफलका लागि रास्वपाका सभापति रवि लामिछानेलाई बोलाउने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित समितिले सहकारी ठगीका विषयमा रवि लामिछानेलाई छलफलको लागि बोलाउन लागेको हो ।

समितिले मंगलबार सहकारीका विषयमा पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको थियो ।

छलफलमा सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको थियो ।

छलफलपछि समितीको हालसम्मको अध्ययनबाट कतिपय सहकारीले ठगी गर्ने नियत नै राखेको निश्कर्ष निकालेको छ । सहकारीको खातामा एउटै व्यक्तिले स्रोत नखुलाई ४० करोडसम्मको रकम जम्मा गरे पनि सम्बन्धित सहकारी सञ्चालकलाई समेत रकम जम्मा गर्ने व्यक्तिका विषयमा कुनै पनि जानकारी नभएको पाइएको छानबिन समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्।

अहिलेसम्म समितिले गरेको अध्ययनका क्रममा दर्जनभन्दा बढी सहकारीमा यस्तो समस्या देखिएको उनले बताइन्। सबैभन्दा बढी कृषि सहकारी नाममा दर्ता भएका र जिबि राईसँग नाम जोडिएका सहकारीमा यस्तो समस्या देखिएको हो ।

सुर्यदर्शन, सुप्रिम सहकारी ठगीका विषयमा जिबी राईसँग गोरखा मिडियाका तत्कालीन एमडी तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको छ । त्यसैले रवि लामिछानेलाई समितिले पत्र काटेर छलफलमा बोलाउने तयारी गरिरहेको छ। केही सकहारीका सञ्चालहरुलाई भने पत्र नै काटिसकिएको समिति सदस्य न्यौपानेले जानकारी दिएकी छिन् ।

३ महिनाको समयसिमा पाएको समितिले १ महिनाभन्दा बढी समयसम्म छानबिन जारी राख्दा सम्बन्धित व्यक्ति, सरोकारवालासँग करिबकरिब बुझ्नेक्रम सकिएको जनाएको छ। समितिले अब फेरि एक पटक अर्थमन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरोलगायतसँग संयुक्तरुपमा छलफल गर्ने तयारी गरेको छ।

त्यस लगत्तै समितिले स्थलगतरुपमै सम्पूर्ण सहकारीमा पुगेर खाता पल्टाउने र सम्बन्धित सहकारीका व्यक्तिलाई सँगै राखेर सहकारीका रकम कहाँदेखि कहाँसम्म फ्लो भइरहेको छ भनेर सोधपुछ गर्ने समितिको तयारी छ।

प्रतिक्रिया दिनुहोस्