एसइईमा एनजी आएका ४ जनाले रिटोटलिङमा ल्याए ४ जिपिए


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिटोटलिङ गर्दा एनजी आएका चार जनाको ४ जिपिए आएको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार एनजी आएको चार विद्यार्थीहरुले ४ जिपिए ल्याएका हुन् ।

गत असार १३ गते एसइईको नतिजा सार्वजनिक भएको थियो । सो परिक्षामा सहभागि भएका ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड एनजी ल्याएका थिए ।

एसइईको नतिजापछि बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।

रिटोटलिङका लागि १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । सोमध्ये चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । जसमा एनजी आएका चार जनाको ४ जिपिए आएको हो । यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।