अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना पुष्टि
एजेन्सी- अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड– १९ संक्रमण पुष्टि भएको छ। नोभेम्बरमा अमेरिकामा हुन लागेकाे राष्ट्रपतिको चुनावमा पुनः राष्ट्रपति बन्ने दौडमा रहेका बाइडेन प्रचारप्रसारका क्रममा बुधबार लस भेगस पुगेका थिए। त्यहाँ परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
८१ वर्षीय राष्ट्रपति बाइडेन सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत् आफू बिरामी भएको जानकारी गराएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि उनी यतिबेला आइसोलेसनमा बसेका छन्।
बाइडेनलाई खोप दिइएको र मध्यम लक्षणहरू देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिएकी छन् । उनका अनुसार बाइडेनले चुनावी प्रचारप्रसारका आगामी कार्यक्रम पनि रद्द गरेका छन् ।
उता अमेरिकाका राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसार तीव्र बनाइरहेको छन् । ज्यान मार्ने हमलाका बाबजुद ट्रम्पले चुनावी कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । यस्तो समयमा कोभिडका कारण आइसोलेसनमा बस्नुपर्दा बाइडेनलाई घाटा लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
बाइडेन डिलावेयर बिच हाउसमा केही दिन आराम गर्ने बताइएको छ।