हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


काठमाडौं– काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको हो ।

निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थिइन्। परिवारका सदस्य जम्मा भएपछि पशुपतिमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतको भनाइ छ।

दार्जिलिङमा जन्मिएकी अम्बिका श्रेष्ठ द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल आएकी थिइन्। श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले १९७७ मा द्वारिकाज होटल दर्ता गरेर सञ्चालनमा ल्याएकी थिइन् ।

महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन्। उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्।