एजेन्सी– बंगलादेशमा आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन अझै चर्किको छ । बंगलादेशका विश्वविद्यालयका विद्यार्थीले सरकारी जागिरमा कायम कोटाको विरोध गरिरहेका छन् ।
उक्त प्रदर्शनमा बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जना विद्यार्थीहरु मारिएका छन् । झडपमा सयौँ घाइते भएको बीबीसी बंगाली सेवाले जनाएको छ ।
‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । सो बेलामा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोध विद्यार्थीहरुले गरेका हुन् । एकतिहाइ पद उनीहरुको लागि कोटा छुट्याइएको छ । बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ ।
कोटा प्रणालीमा नै ६७ प्रतिशत सरकारी जागिर जाने भएकाले उक्त व्यवस्था भेदभावपूर्ण भएको बताउँदै सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग विद्यार्थीहरुले केहिदिन यता प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शन पछिल्ला दिनमा हिंसात्मक बन्दै गएका हुन् ।
बुधबार प्रधानमन्त्री शेख हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गर्दै अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । तर प्रधानमन्त्रीको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापीरुपमा चर्किएको छ ।
प्रर्दशन चर्किएपछि त्यहाँको इन्टरनेट सेवासमेत बन्द भएको छ । बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचार आएका छैनन् । युट्युबमा प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन् ।
प्रतिक्रिया