सिमलताल पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव भारतमा फेला


फाइल तस्बीर

काठमाडौं– नारायण–मुग्लिङ सडकखण्डअन्तर्गत सिमलताल असार २८ मा पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले दुई जनाको शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । फेला परेको एउटा शव नेपाल ल्याइएको छ भने एउटा ल्याउन बाँकी छ।

योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार थिए । सोमध्ये तीनजनाले त्रिशुलीबाट निस्किएर ज्यान गुमाएका थिए ।