धोती लगाएर मल्टिप्लेक्समा सिनेमा हेर्न गएका वृद्धलाई छिर्न नदिएपछि बेंगलुरुको एक मल बन्द
एजेन्सी– धोती लगाएर फिल्म हेर्न मलमा पुगेका किसानलाई मलमा छिर्न नदिएपछि भारतको कर्नाटक सरकारले एक मल बन्द गरेको छ । कर्नाटक सरकारले बेंगलुरुको जीटी वर्ल्ड मल एक हप्ताको लागि बन्द गर्न आदेश दिएको छ ।
हावेरी जिल्लाका एक किसान श्रीमती र छोरासँग मल्टिप्लेक्समा फिल्म हेर्नका लागि उक्त मलमा गएका थिए। मंगलबार साँझ हावेरीका नागराज नाम गरेका व्यक्तिल आफ्ना बुबा फकिरप्पासँग जीटी मलमा फिल्म हेर्न गएका हुन् । जहाँ उनको बुबाले धोती र सेतो सर्ट लगाएका थिए । उनीहरुसँग फिल्मको टिकट भएपनि मलका सुरक्षागार्डले मलमा प्रवेश गर्न दिएनन् । मलको नियमअनुसार धोती लगाएका मानिस मलभित्र पस्न नपाउने भन्दै उनीहरुलाई फिल्म हेर्न जानबाट रोकेका थिए । आधा घण्टासम्म अनुनय गर्दा पनि प्रवेश नदिएपछि उनीहरू त्यत्तिकै फर्किएका थिए।
छोरा नवराजले बुबालाई मलमा छिर्न नदिएको भिडियो बनाएका थिए र पछि उनले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । भिडियो देखेपछि मलका कर्मचारीप्रति स्थानीय तथा किसानहरु आक्रोशित हुँदै त्यसको विरोधमा उत्रिएका थिए। प्रदर्शनकारीले मलअगाडि भेला भएर नारा लगाएका थिए।
घटनाको विरोध भएपछि कर्नाटक सरकारले करसँग सम्बन्धित कानुनका आधारमा उक्त मल एक साताका लागि बन्द गर्न आदेश दिएको हो । कर्नाटकका सहरी विकासमन्त्री विराथी सुरेशले विधानसभामा भने, ‘मैले यसबारेमा ब्रुहत बेंगलुरु महानगरपालिका आयुक्तसँग के गर्न सकिन्छ भनेर सोधपुछ गरेँ। सरकारसँग अधिकार छ। जीटी वर्ल्ड मल सात दिनका लागि बन्द गरिनेछ।’