Logo

सिमलतालमा बेपत्ता भएकालाई भेटिने आश मार्दै आफन्त, कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौं– गत असार २८ गते चितवनको नारायण मुग्लिन सडकखण्डअन्तर्गतको सिमलतालमा लेदोसहित आएको पहिरोमा बेपत्ता भएकाको परिवारले आफन्तले भेटिने आश मार्न थालेका छन् । घटनाको ८ औँ दिनसम्म फेला नपरेपछि आफन्तहरुले शवपनि भेटिने आश मारेका हुन् ।

यसैक्रममा त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी एक यात्रुको आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । शुक्रबार कलैया उपमहानगरपालिका– १४ जितपुटोलकी सृष्टि यादवका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा उनको दाहसंस्कार गरेका हुन् ।

छोरीको शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताएका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा २६ वर्षीय शृष्टी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा दुर्घजनामा परेकी थिइन् ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ मा त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार थिए । सोमध्ये तीनजनाले त्रिशुलीबाट निस्किएर ज्यान गुमाएका थिए । घटनामा हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

बेपत्ता दुईवटा बस र ३९ जना यात्रुको अवस्था हालसम्म पत्ता लागेको छैन । आठ दिनसम्म परिवारका सदस्यको बारेमा पत्ता नलागेपछि आफन्त विछिप्त बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्