युवालाई अमेरिकाको भिसा दिलाउन विचौलियाको भुमिका खेलेको आरोपपछि उपसभामुख इन्दिरा रानाले खोलिन् मुख, आफूले कसैको भिसाको लागि अनुरोध नगरेको दाबी


काठमाडौं– उपसभामुख इन्दिरा रानाले पछिल्लो विवादको विषयमा मुख खोलेकी छिन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले अमेरिकी राजदूतावासलाई आफूले कसैको भिसाको लागि अनुरोध नगरेको दाबी गरेकी छिन् ।

युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन भन्ने खालका भ्रामक र तथ्यहीन समाचारहरू आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी पछन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक उम्मेदवारको रूपमा निर्वाचित भई प्रतिनिधि सभाको उपसभामुखको पदमा रहन पाएको बताउँदै आफ्नो पदको दुरुपयोग नगरेको उल्लेख गरेकी छिन् ।

उनले सो विवादबारे सार्वजनिक गरेको विज्ञप्तीमा लेखिएको छ, ‘गत वर्ष २०२३ को मार्च महिनामा युएन कमिसन अफ स्टेटस अफ वुमन सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने ‘एनजिओसिएस्डब्लु’ मा सहभागिताको लागि म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा- यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूताबासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ। कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन। हैन’, उपसभामुख रानाले भनेकी छन्।

उनले आफूले करुणाभावले सहयोग गर्न खोजेको तर आफूबाट अनैतिक कार्य नभएको दाबी गरेकी छन्।

‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ’, रानाले भनेकी छन्, ‘मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ। मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन।’

१७ महिना पहिला सन् २०२३ को फेब्रुअरी २६ मा उपसभामुख रानाले आफुसहित ६ जनाको भिसाको अन्तवर्ताका लागि समय उपलब्ध गराउन अमेरिका दुतावासलाई पठाएको चिठी सार्वजनिक भएको छ । उक्त पत्र सार्वजनिक भएपछि अमेरिका पठाउन बिचौलियाको भुमिका खेलेको भन्दै उनले राजिनामा दिनुपर्ने आवाजहरु उठिरहेको छ ।