काठमाडौं— अब त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने भएका छन् ।
स्नातक तहको अन्तम वर्षमा फेल भएका विद्यार्थीलाई मौका परिक्षा दिन पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने त्रिवि प्राज्ञिक परिषद्ले निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए ।
हाल त्रिविमा सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ । वार्षिक प्रणालीमा भने यस्तो सुविधा छैन । अब वार्षिक प्रणालीमा पनि नतिजा प्रकाशन भएको दुई सातापछि मौका परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको उनले बताए । दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् ।
यसअघि स्नातकमा कुनै पनि विषयमा अनुत्तीर्ण भए अर्को वर्ष मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षमा अनुत्तीर्ण भए चौथो वर्ष अध्ययन गर्दासम्म विद्यार्थीले अनुत्तीर्ण विषयमा परीक्षा दिन पाउँछन् । तर चौँथो वर्षमा फेल भएमा अर्को वर्षमा मात्र परिक्षा दिन पाउँदा विद्यार्थीहरुको एक वर्ष खेर गइरहेको थियो । अब स्नातकको अन्तिम वर्षको मौका परिक्षा दिन एक वर्ष कुर्न नपर्दा हरेक ब्याचका २० देखि २५ हजार विद्यार्थीको एक वर्ष जोगिने त्रिविको अनुमान छ ।
सेमेस्टर प्रणालीमा मौका परीक्षा दिने व्यवस्था भए पनि कार्यान्वयन नभएको र त्यसलाई कार्यान्वयन गर्न डिन कार्यालयहरूलाई पत्राचार गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया