एसइईमा एनजी आएका ९४ विद्यार्थीले रिटोटलिङ गर्दा पाए ४ जिपिए


काठमाडौं– एसइई परिक्षा २०८० को नतिजामा चित्त नबुझेर रिटोटलिङका लागि आवेदन दिएका विद्यार्थीहरु मध्ये ९४ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । गत असारमा १३ माध्यमिक शिक्षा परिक्षाले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको थियो । जसमा १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । पुनर्योग तथा रिटोटपलङ गर्दा थप ९४ जनाले ४ जिपिए ल्याएका हुन् ।

रिटोटलिङ गर्दा एनजी आएकाको ४ जीपीए आउनुले नतिजा प्रकासनमा गम्भीर लापरवाही भएको देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कापि जाँच्दा समस्या नदेखिएको तर कम्प्युटरमा त्रुटी भएको जनाएको छ । कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले रिटोटलिङ नतिजामा फरक आइरहेको पाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताएका छन् ।

चार लाख ६४ हजार ७८५ जना एसईईमा सहभागि भएका थिए । उनीहरुमध्ये ४८ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ जना ११ कक्षा पढ्न पाउने भएका थिए । बाँकी ५२ प्रतिशत विद्यार्थीको नतिजामा एनजी आएको थियो । एनजी आएकामध्ये १९ हजार ६०० जनाले पुनर्योग रिटोटलिङको लागि निवेदन दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार एसइई नतिजा प्रकाशन गरिएको थियो । जसअनुसार हरेक विषयमा सैद्धान्तिक र आन्तरिक परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । सो नल्याएका विद्यार्थीहरुको नतिजा एनजी आएको थियो । निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेर सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । मौका परीक्षा साउन २३ गतेबाट सुरु हुँदैछ ।