मदिरा सेवन गरेर गाली गर्न थालेपछि साथीहरु मिलेर हत्या, ८ जना आरोपित पक्राउ


रोल्पा- रोल्पामा मदिरा सेवन गरेका एक युवकले गालीगलौज गर्न थालेपछि साथीहरुले नै उनको हत्या गरेका छन् । रोल्पा नगरपालिका- ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको साथीहरुले नै हत्या गरेका हुन् । कपिलवस्तुको वाणगं‌गा नगरपालिका वडा नम्बर २ घर भएका उनी रोल्पामा ग्यारेज सञ्चालन गर्थे ।

उनीमाथि शनिबार राती चक्कु प्रहार भएको थियो । उपचारका लागि जिल्ला अस्पताल रेउघामा पुर्याएका उनको शनिबार राति ९ बजेतिर मृत्यु भएको प्रहरीले उनको हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

उनको हत्या आरोपमा प्रहरीले रोल्पा–९ बस्ने २८ वर्षीय मदन रोका मगरसहित ८ जना पक्राउ परेका हुन्। पक्राउ परेका अन्य सात जनाको नाम गोप्य राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उक्त घटनामा दुई जना घाइते समेत भएका छन्। रोल्पा–४ खाद्यटोल बस्ने १६ वर्षीय अनिल पुन मगरको ओठ र टाउकोमा चोट लागेको छ । अटो वर्कशव संचालक ३३ वर्षीय कृष्णबहादुर अधिकारी बायाँ हातको बुढी औंलामा चोट लागेको छ । उनीहरू दुबै जनाको अवस्था सामान्य छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार घटनामा संलग्न सबै जना मिल्ने साथीहरू रहेको पाइएको छ । उनीहरू एक–अर्काको घरमा आउजाउ गरिरहने र राती बास बस्ने सम्म गर्थे ।

शनिबार राति मृतक शनिले मदिरा सेवन गरेका साथीहरूसँग गालीगलौज गर्न थालेपछि झगडा परेको थियो । त्यसपछि आवेगमा आएका साथीहरूले नै चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

‘मृतकले मदिरा सेवन पछि साथीहरूलाई तथानाम गाली गलोज गरेपछि झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्छ,’ डिएसपी लामाले भने।