धनगढीमा अस्पताल बनाउन भन्दै भवन निर्माण गरेर चर्च सञ्चालन, धर्म परिवर्तन गर्न खोजिएको भन्दै विरोध


कैलाली‍‍- धनगढीमा अस्पताल बनाउन भनेर निर्माण गरिएको भवनमा चर्च सञ्चालन गर्न थालेपछि स्थानीय आक्रोशित बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नं ७ मनोहरामा छालसम्बन्धी अस्पताल खोल्न भन्दै निर्माण गरिएको थियो ।

प्रभाकर भण्डारीबाट साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर छालासम्बन्धी अस्पताल बनाउने भन्दै लेट मेइन धनगढी प्रालिले भवन निर्माण गरेको थियो । सो भवन निर्माण सम्पन्न भएपछि संस्थाले अर्कै संस्थालाई भवन लिजमा दिएर चर्च सञ्चालनमा आएपछि स्थानीयले विरोध जनाएका हुन् ।

भवन निर्माणपछि २०८१ वैशाख ६ गते वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने भन्दै ‘नेपाल लाइफ वर्ड मिसन’ संस्थाले इजाजत लिएको थियो । असार १५ गते इसाई संगति हुन थालेपछि चर्च बनेको विषय आफुहरुले थाहा पाएको स्थानीयले बताएका छन् ।

इसाईको बसोबास नभएको समुदायमा झुक्याएर चर्च खोलिएको र धर्मको प्रचार गर्न खोजिएको स्थानीयको आरोप छ । उनले आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने माग उनीहरुको छ । उक्त भवनमा इसाई धर्मको प्रचारका लागि दुईजना कोरियाली नागरिक समेत बस्ने गरेको पाइएको छ।

सो विषयमा भवन निर्माण गर्ने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सोमबार २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेको छ। अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न निर्देशन दिएको छ ।