काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलको कुनैपछि फिक्स टाइम नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कुनै पनि राजनीतिक दलको अरुकोजस्तो अफिस टाइम नहुने बताएका हुन् ।
प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद राईले असार १७ गते मध्यरातमा दुई दलबीच सहमति भएकोबारे जवाफ माग गरेकी थिईन् । उनको प्रश्न थियो, ‘मध्यराति के आपत पर्यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र?’
सांसद राईको प्रश्नको जवाफ दिँदै ओलीले भने ‘मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ श्र एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । राजनीतिक गतिविधिको समय अफ हुँदैन । घडी अफ हुँदैन । समय गतिशील छ । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं’ ।
प्रतिक्रिया