काठमाडौं– यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले जानकारी दिए । उनले भने, ‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।’
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।
पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताए ।
प्रतिक्रिया