एक वर्षमा नेपाली भान्सामा पाक्यो २८ अर्बको तरकारी, ८२ करोडको तरकारी निर्यात


काठमाडौं– पछिल्लो एक वर्षमा नेपालीको भान्सामा २८ अर्बभन्दा बढी रुपैयाँ बराबरको विदेशी तरकारी पाकेको छ । भन्सार विभागका अनुसार गत एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी नेपालमा भित्रिएको छ ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी विभिन्न देशबाट नेपालमा आयात भएका छन् ।

नेपालमा अरबौँ रुपैयाँ बराबरको तरकारी भित्रिँदै गर्दा न्युन मात्रामा मात्र तरकारी देश बाहिर पठाइएको छ । पछिल्लो एक वर्षमा नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ ।

सो तथ्यांकअनुसार तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट १४ अर्ब ६ करोडको तरकारी आयात भएको छ । दोस्रो सबैभन्दा धेरै चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको तरकारी आयात भएको छ । यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएको विभागको तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । पछिल्लो एक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ ।