Logo

चन्द्रमामा गुफा पत्ता लाग्यो, अन्तरिक्ष यात्री बास बस्न सक्ने

एजेन्सी- चन्द्रमामा सयौँ मिटर गहिरो गुफा फेला परेको छ । उक्त गुफामा पृथ्वीबाट गएका अन्तरिक्ष यात्रुहरु बस्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । सो गुफामा स्थायी क्याम्प बनाएर बस्न सकिने जनाइएको छ । ती गुफामा बरफ जमेको हुनसक्ने र त्यसलाई मानिसले प्रयोग गर्न सकिने अनुमानसमेत गरिएको छ ।

करिब ५० वर्षअघि देखि नै वैज्ञानिकहरुले चन्द्रममा गुफा हुनसक्ने बताउँदै आएका थिए । सो कुरा हाल आएर सत्य भएको हो ।

चन्द्रमाको सतहमा अवस्थित प्वालबाट उक्त गुफामा प्रकाश छिर्छ। गुफा ठाडो छ र गुफाको भुइँ निकै तलसम्म फैलिएको हुन सक्छ। वैज्ञानिकहरूका अनुसार यो गुफा चन्द्र सतहदेखि १५० मिटर तल रहेको छ र ४५ मिटर चौडा र ८० मिटर लामो रहेको छ ।

बिबिसी न्युजका अनुसार इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको ुमेअर ट्र्याङ्क्विलिटेटिसु भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा रहेको पत्ता लगाएका हुन्।

उक्त गुफा निकै ठूलो भएको भेउ पाइसकेपछि इटलीका ती दुई प्राध्यापकले उक्त स्थान चन्द्रमामा मानिसका लागि आधारशिविर बन्न उपयुक्त भएको ठानेका हुन्।

पृथ्वीमा सुरुमा मानव जीवन गुफाबाट सुरु भएको र चन्द्रमामा पनि गुफामा बस्न सक्ने उनीहरुले बताएका छन् । मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०–३० वर्षसम्म बस्न सक्ने अनुमान गरिएको छ । चन्द्रमामा हालसम्म पत्ता नलागेका अन्य कयौँ त्यस्ता गुफा रहेको हुनसक्ने बताइएको छ ।

चीन, अमेरिकालगायतका संसारका शक्तिशाली देशहरु एक अर्कासँग प्रतिस्पर्धा गर्दै चन्द्रमामा पुग्न र मानव वस्ति बसाल्न अनुसन्धान गरिरहेका छन् । यद्यपि चन्द्रमामा विकिरण, उच्च तापक्रम र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती रहेको छ । यस खोजले चन्द्रमामा मानिसको उपस्थितिलाई सुरक्षा प्रदान गर्न थप सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ ।

वैज्ञानिकहरु चन्द्रमामा मात्र नभइ मंगल ग्रहमा समेत मानव वस्तीको सम्भावनाको खोजी गरिरहेका छन् । यस खोजीले मंगल ग्रहमा गुफाको खोजी गर्न समेत सहयोग मिलेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्