काठमाडौं– पछिल्लो एक वर्षमा नेपालबाट उच्च शिक्षा अध्ययनको शिलशिलामा १ लाख १२ हजार बढी विद्यार्थी विदेशिएका छन् । उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा ६६ देशका लागि १ लाख १२ हजार बढी विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि १ लाख १२ हजार बढी अनुमति पत्र लिएका हुन् । अनुमति लिनेमध्ये सबैभन्दा धेरै जापान जानका लागि विद्यार्थीले अनुमतिपत्र लिएका छन् ।
पछिल्लो एक वर्षमा ३४ हजार ७ सय ३१ जनाले जापानका लागि अध्ययन अनुमतिपत्र लिएका हुन् । त्यसपछि सबैभन्दा धेरै क्यानडाका लागि १५ हजार ९८२ जना विद्यार्थीले अनुमतिपत्र लिएका हुन् ।
यस्तै नेपालीका लागि तेस्रो अध्ययनको गन्तव्य अस्ट्रेलिया बनेको छ । अष्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले अनुमति लिएका छन् । बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । बंगलादेशमा भने चार सय ४८ जनाले अनुमतिपत्र लिएका छन् ।
यस अवधिमा ९४ वटा विषय पढ्न नेपाली विद्यार्थी विदेशिएका छन् । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेमध्ये सबैभन्दा बढी जापानी भाषा अध्ययनका लागि ३३ हजार ६७९ जनाले अनुमतिपत्र लिएका छन् ।
विभिन्न देशमा व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार आठ ९१, बिजनेस अध्ययनका लागि १० हजार २९, स्वास्थ्य शिक्षामा चार हजार १५९, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, कम्प्युटर साइन्समा ४ हजार ९ सय ९२, हस्पिटालिटीमा २५ सय ४३, आट्र्समा एक हजार ८१३ वटा एनओसी जारी भएको तथ्यांक छ ।
प्रतिक्रिया