दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १८ जनाको शव निकालियो, एक जनाको जीवितै उद्धार


काठमाडौं– त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटनामा कम्तीमा १८ जनाको शव निकालिएको छ । दुर्घटनापछि उद्धारका लागि खटिएको टोलीको प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका हुन् ।

एक जनाको भने जीवितै उद्धार गरिएको छ । विमानका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरिएको छ । आँखामा चोट लागेको उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बुधबार बिहान करिब ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सको ९ एन (एएमई–सीआरजे २००) जहाज दुर्घटनामा परेको हो ।

पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । भुइमा जहाज पछारिएपछि भिषण आगो लागेको थियो । हाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

जहाजमा १९ जना यात्रुहरु सवार रहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाजमा सबै सौर्य एयरलाइन्सकै कर्मचारी रहेको बताइएको छ ।